Logo

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको तयारी अघि बढाएको छ। शुक्रबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री कार्की आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

आज शनिबार दिनभर प्रधानमन्त्री कार्की आफ्ना सल्लाहकार, कानुनी तथा राजनीतिक सल्लाहदाताहरूसँग छलफलमा व्यस्त रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्रिपरिषदमा समावेश गरिने सदस्यहरूको नाम टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ।

कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको प्राथमिकता आगामी आमनिर्वाचन निष्पक्ष र समयमै सम्पन्न गराउने, संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढाउने र जेन–जी आन्दोलनपछिको सामाजिक पुनर्संरचना र मेलमिलापलाई सहज बनाउने बताइएको छ।

मन्त्रिपरिषद विस्तारमा युवापुस्ताको सहभागिता, महिला र अल्पसंख्यक समुदायलाई प्राथमिकता दिइने चर्चा चलिरहेको छ। केही नयाँ अनुहारहरू मन्त्रीको रूपमा सार्वजनिक हुने संकेत स्रोतहरूबाट आएको छ।

प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिपरिषदलाई सुसंयोजित, विवादरहित र व्यावसायिक बनाउन जोड दिइरहेकी छन्। आइतबार मन्त्रिपरिषद विस्तारसँगै अन्तरिम सरकारको नीति तथा प्राथमिकताबारे सार्वजनिक अभिव्यक्ति दिने तयारी पनि भएको स्रोतले जनाएको छ।


सम्बन्धित समाचार