Logo

८ भदौ, बुटवल । जेन–जी पुस्ताका युवाहरूको शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ।

पूर्वप्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत काठमाडौंको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा ओलीविरुद्ध मुद्दा दर्ता गराएका हुन्।

जाहेरीमा भनिएको छ कि ओलीको आदेशमा भएको बल प्रयोगका कारण १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाहरूको ज्यान गएको र धेरैजना घाइते भएको उल्लेख गरिएको छ।

मृतकहरूमध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम जाहेरीमा समावेश गरिएको छ।

शाहद्वारा दायर गरिएको जाहेरीमा ओलीमाथि “जघन्य अपराध” को अभियोग लगाउँदै घटनाको गम्भीर र निष्पक्ष छानबिन गरी प्रमाणसहित कानुनी कारबाहीको माग गरिएको छ। साथै, घटनास्थलका मुचुल्का, शव परीक्षण रिपोर्ट, प्रत्यक्षदर्शीका बयान लगायत प्रमाणहरू संकलन गरी अनुसन्धान अघि बढाउन पनि आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी तामाङले मुद्दा दर्ता सम्बन्धी कागजात सम्बन्धित निकायमा पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।


सम्बन्धित समाचार