Logo

२८ भदौ,काठमाडौं । जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले आगजनी गरेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीका लागि वैकल्पिक कार्यकक्ष तयार गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा सारिँदैछ। पुरानै फर्निचर, कम्प्युटर, टेबल, कुर्सी, सोफा लगायतका आगोबाट बचाइएका सामग्रीहरू सो भवनमा स्थानान्तरण गर्दै कार्यालय सञ्चालनका लागि तयारी भइरहेको छ।

सिंहदरबारको मूल भवनमा आगजनी भएको पाँच दिन बितिसक्दा पनि पश्चिम भागमा अझै आगो सल्किरहेको छ भने धेरै मन्त्रालय भवनहरू पूर्ण रूपमा ध्वस्त अवस्थामा छन्। जलेका सवारीसाधन, छरपस्ट कागजातहरू, र नष्ट भएका उपकरणहरू अझै हटाइएका छैनन्।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदाको दिन पनि कर्मचारीहरू स्वतःस्फूर्त रूपमा सरसफाइ र फोहर व्यवस्थापनमा जुटेका छन्। मन्त्रालयका सचिव चुडामणि पौडेलको नेतृत्वमा बिहान ८ बजेदेखि नै कर्मचारीहरू जुटेर जलेका कागजात, उपकरण र सवारीसाधन हटाउने काममा सक्रिय छन्।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “सम्भव भएसम्म आफैं जुटेर काम गरिरहेका छौं। क्षतिको यकिन विवरण निकाल्न टोली गठन गरिएको छ। क्षतिको लगत तयार भएपछि मर्मत र पुनर्निर्माणको काम थालिन्छ।”

शिक्षा मन्त्रालयको भूमिगत पार्किङमा रहेका गाडीहरू समेत जलेर सखाप भएका छन्। प्रवक्ता सापकोटाका अनुसार कम्प्युटर, टेलिभिजन, फर्निचर लगायतका सामग्रीमा गम्भीर क्षति पुगेको छ।

कर्मचारीकै पहलमा सुरु गरिएको सरसफाइ तथा मर्मत कार्यले आन्दोलनबाट क्षतिग्रस्त अन्य मन्त्रालयलाई पनि पुनः सञ्चालनमा ल्याउन प्रेरणा दिने अपेक्षा गरिएको छ। संरचनागत क्षति नभएका भागमा सकेसम्म चाँडो कार्यालय पुनः सञ्चालनमा ल्याउने प्रयास जारी छ।


सम्बन्धित समाचार