Logo

२९ भदौ, वीरगञ्ज । सन्तानको दीर्घायु, सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेशका आमाहरूले आइतबार जितिया पर्व श्रद्धा र निष्ठासहित मनाउँदै छन्।

शनिबार बिहान पवित्र जलाशयमा स्नान गरी व्रत सङ्कल्प गरेका महिलाहरूले मध्यरातपूर्व ‘ओगटन’ (दर) ग्रहण गरी निराहार व्रत सुरु गरेका हुन्। यद्यपि अष्टमी तिथि आइतबार बिहान ८ः४४ बजेदेखि सुरु भए पनि व्रत शनिबार मध्यरातपछि नै प्रारम्भ भएको मानिन्छ।

निराहार व्रत सोमबार बिहान ७ बजेपछि नवमी तिथि एक घडी बिताएर सम्पन्न गर्ने परम्परा रहेको पण्डित पुरुषोत्तम दुबेले बताए।

यस व्रतमा सप्तमीका दिन स्नान गरी सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्य अर्पण गर्ने चलन छ। साथै, बर्तालु महिलाहरूले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू, जेठानी, देवरानी र मातृकूललाई स्मरण गर्दै सन्तानको सुख, समृद्धि र दीर्घायुका लागि प्रार्थना गर्ने गर्छन्।

पितृपक्षमा पर्ने यो पर्वमा बर्तालुले तीन पुस्ताभित्रका दिवङ्गत महिलाहरूलाई तर्पण दिने चलन छ। निष्ठा र श्रद्धापूर्वक गरिएको यो व्रतले सन्तानलाई दीर्घायु र सुखसमृद्धि दिने विश्वास गरिएको छ।


सम्बन्धित समाचार