काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपालमा गठन भएको नयाँ अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। आइतबार दूतावासले विज्ञप्ति जारी गर्दै नेपालको राजनीतिक संक्रमणलाई शान्तिपूर्ण ढंगले अगाडि बढाउन अमेरिका प्रतिबद्ध रहेको स्पष्ट गरेको हो।
गत हप्ता जेनजी आन्दोलनका क्रममा भएका दुखद घटनापछि समाधानको बाटो निकालिएकोमा अमेरिकाले स्वागत गरेको छ। विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्व र अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिलाई प्रशंसनीय भन्दै दूतावासले युवानेताको भूमिकालाई समेत सराहना गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “यो दुखद समयमा हामी नेपालसँग शोकमा साथमै छौँ। नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देलले संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न निर्वाह गरेको भूमिकाको हामी सम्मान गर्दछौँ।”
दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा अमेरिका सहकार्यका लागि तयार रहेको उल्लेख गरेको छ।
अमेरिकी दूतावासको यस्तो वक्तव्यसँगै नेपालको वर्तमान राजनीतिक यात्रामा अन्तर्राष्ट्रिय समुदायको सकारात्मक सन्देश प्राप्त भएको विश्लेषण गरिन्छ।















