Logo

२९ भदौ, काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन्। सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी उनले औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी हुन्।

पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्कीले शहीद गेटमा माल्यार्पणसहित शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन्। त्यसपछि उनी सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनस्थित प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेर कार्यभार सम्हालिन्।

जेनजी आन्दोलनको बलमा राजनीतिक सहमतिअनुसार कार्कीलाई शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो। देशभर चर्किएको आन्दोलन, सरकारको राजीनामा र तीव्र जनदबाबका कारण कार्की नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो।

प्रधानमन्त्री कार्कीले कार्यभार ग्रहणपछि संक्षिप्त मन्तव्य दिँदै सबै पक्षलाई समेटेर शान्ति, स्थायित्व र न्याय सुनिश्चित गर्ने प्राथमिकता रहेको बताइन्। उनले जनआन्दोलनमा ज्यान गुमाएकाहरूको बलिदानलाई सम्मान गर्दै पीडित परिवारको न्यायका लागि कडाइका साथ काम गर्ने प्रतिवद्धता जनाइन्।

अबको प्राथमिकता संवाद, समावेशिता र शीघ्र संविधान कार्यान्वयन हुने प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।


सम्बन्धित समाचार