२९ भदौ, काठमाडौं। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ बाट शनिबार साँझ ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बनेपाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय एक बालक, बारा निवासी २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई ठूलो संख्यामा गोलीसहित फेला पारेपछि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सबैको साथबाट बरामद गरिएको ७३० राउण्ड गोली कसरी र कहाँबाट आएको भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेको भनाइ छ।
हाल घटनाबारे थप विवरण संकलन भइरहेको र पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले अवैध हतियार तथा गोलीकाण्डप्रति कडाइका साथ निगरानी गर्ने र यस्ता घटनामा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

















