Logo

२९ भदौ, काठमाडौं । हालै भएको जेन–जी आन्दोलनको आवरणमा भएका हिंसात्मक घटनाले नेपालको निजी क्षेत्रमाथि ठूलो प्रहार गरेको छ।

यस विध्वंसबाट निजी क्षेत्रले मात्रै करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको प्रारम्भिक अनुमान छ । यो क्षति कुल अर्थतन्त्रको झन्डै ४ प्रतिशत हुन आउँछ।

निजी क्षेत्रमाथि छानीछानी आक्रमण

भदौ २४ गतेको भ्रष्टाचारविरोधी आन्दोलनमा घुसपैठ भएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो । यस क्रममा सरकारी भवनहरू (संसद्, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय लगायत निजी व्यावसायिक प्रतिष्ठानहरूमा पनि व्यापक क्षति पुगेको छ । नेपालका डलर अर्बपति विनोद चौधरीको निवासमा लुटपाट गरियो भने सतुंगलस्थित सीजी फ्याक्ट्री र थापाथलीको सीजी मोटर्सको सोरुममा आगजनी तथा तोडफोड भयो । वसन्त चौधरी र अरुण चौधरीका निवास तथा प्रतिष्ठानमा पनि आक्रमण भएको छ ।

काठमाडौँको चन्द्रागिरि केबलकार र नवलपरासीको मौलाकालिका केबलकारको बेस स्टेसनमा आक्रमण भयो । यी कम्पनीहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएकाले सर्वसाधारण लगानीकर्तालाई पनि ठूलो क्षति भएको छ । देशभरका १२ वटा स्टोर पूर्ण रूपमा जलेर नष्ट भए भने ९ वटामा तोडफोड र लुटपाट भएको छ। भाटभटेनीले मात्रै करिब ५० अर्ब रुपैयाँको क्षति बेहोरेको अनुमान छ।
अन्य स्थान कान्तिपुर पब्लिकेसन, हिल्टन होटल, एनसेल, टाटा मोटर्स, हुन्डाई, सुजुकी, महिन्द्रा, अन्नपूर्ण टावर र सिम्रिक एयरको भवनमा पनि आक्रमण भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलको निवासमा समेत आगजनी गरिएको छ।

‘जेन–जी’ को आन्दोलन दुरूपयोग

जेन–जी युवाहरूले आफ्नो आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण रहेको बताएका छन् । तर, विभिन्न भिडिओ फुटेजमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), दुर्गा प्रसाईं समूह, राप्रपा र माओवादी केन्द्रका युवाहरू पनि आन्दोलनमा देखिएका छन्। जेन–जीका नेताहरूले रास्वपा र रवि लामिछानेले आफ्नो आन्दोलनलाई दुरुपयोग र बदनाम गरेको आरोप लगाएका छन् ।

लगानी र रोजगारीमा गम्भीर असर

आक्रमणमा परेका चौधरी समूह र आईएमई समूहले मात्रै २०,००० भन्दा बढीलाई रोजगारी दिएका थिए भने भाटभटेनीका ८,००० भन्दा बढी कर्मचारी थिए । यी घटनाबाट रोजगारीमा कमी आउने र राज्यको राजस्व पनि घट्ने निश्चित छ । नेपाल उद्योग वाणिज्य महासंघले यस प्रकारको आक्रमणले लाखौँ रोजगारी गुम्ने र लगानीकर्ताको मनोबलमा धक्का लाग्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

बीमा कम्पनीलाई ठूलो चुनौती

आन्दोलनबाट भएको क्षतिका कारण बीमा कम्पनीहरूमा ठूलो परिमाणमा दाबी आउने अनुमान गरिएको छ। वि.सं.२०७२ सालको भूकम्पमा १७ अर्ब रुपैयाँको दाबी परेको थियो भने यस आन्दोलनका कारण १० गुणाभन्दा बढी दाबी आउन सक्ने प्रारम्भिक अनुमान छ । यसरी निजी क्षेत्रमाथि लगातार भइरहेको प्रहारले लगानी विस्तार गर्ने क्षमतामा गम्भीर असर परेको छ। यसले व्यवसायीहरूलाई आफ्नो सम्पत्ति र लगानी सुरक्षित छैन भन्ने भावना जगाएको छ, जसले गर्दा विदेशी लगानीकर्ताहरू पनि नेपालबाट हात झिक्ने जोखिम बढेको छ।

यद्यपि, नेपालका उद्योगीहरूले मनोबल नगुमाएको बताएका छन् । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले ‘घर जलाउन सकिने, तर सपना जलाउन नसकिने’ भन्दै प्रतिबद्धता जनाएका छन् । यस्तै, एक उद्योगीले ‘सरकारले आपराधिक मानसिकताका केही व्यक्तिलाई नियन्त्रण गरे, हामी फेरि उठ्छौँ’ भनेका छन् ।


सम्बन्धित समाचार