Logo

२९ भदौ,वीरगञ्ज । देशभर चर्किएको जेन–जी आन्दोलनको प्रभाव पर्सा जिल्लामा पनि देखिएको छ। आन्दोलनका क्रममा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको पर्सा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार काठमाडौँमा भदौ २३ गते भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि भदौ २४ गते पर्सामा प्रदर्शन चर्किएको थियो। सोही क्रममा सुगौलिबिर्तास्थित सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक विट मा तोडफोड तथा आगजनी गरिएको हो।

प्रदर्शन उग्र बन्दा केही प्रदर्शनकारीले प्रहरी पोस्टहरू लक्षित गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राका अनुसार, आन्दोलनका क्रममा पाँच जना प्रहरी घाइते भएका थिए। उपचारपछि उनीहरू सबै पुनः ड्युटीमा फर्किएको र अहिले सुरक्षा व्यवस्थामा खटिएको बताइएको छ।

एसपी मिश्राले भने, “आज बेलुकीसम्म सबै प्रहरी विटहरू पुनःस्थापना हुनेछन्। स्थानीयवासी, बुद्धिजीवी र भद्रभलादमीहरूको सक्रिय सहयोगमा प्रहरी कर्मचारीहरू पुनः आफ्नो पोस्टमा फर्किएका छन् र ड्युटी सम्हाल्न थालेका छन्।”

प्रहरीका अनुसार, क्षति पुगेका चौकीहरू पुनः सञ्चालनमा आएपछि प्रहरीको मनोबल बढेको र स्थानीय सुरक्षा व्यवस्थामा सहजता आउने अपेक्षा गरिएको छ।

प्रहरी प्रशासनले सबैलाई शान्तिपूर्ण तरिकाले आफ्नो आवाज उठाउन आग्रह गर्दै, सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मीप्रति आक्रोश पोख्ने कार्यबाट टाढा रहन अनुरोध गरेको छ।

 


सम्बन्धित समाचार