२९ भदौ,सेढवा । पर्सा प्रहरीले जिराभवानी गाउँपालिकाबाट ठूलो मात्रामा भारतीय कुखुरा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय सेढवाबाट वरिष्ठ प्रहरी नायब निरीक्षक अर्जुन साह को नेतृत्वमा गएको टोलीले जिराभवानी–१, महादेव पटि गाउँ नजिकबाट ६० वटा भारतीय कुखुरासहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
बरामद गरिएका मोटरसाइकलमध्ये एउटा भारतीय नम्बर बि.आर.०५ एडबलू ७३२७ भएको टिभिएस र अर्को नम्बर प्लेट नभएको प्लाटिना मोटरसाइकल रहेको प्रहरीले जनाएको छ। यी मोटरसाइकलमा करिब २०० किलो अवैध कुखुरा लोड गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्साल का अनुसार, बरामद गरिएका कुखुरालाई जिराभवानी–२ का वडा सदस्य नन्दकिशोर साह, ग्रामीण कुखुरा व्यवसायी संघका सदस्यहरू अभिलेश यादव र जितेन्द्र यादव, स्थानीय भद्रभलादमी, पशु क्वारेन्टाइनका प्रतिनिधि र पत्रकारहरूको रोहवरमा नष्ट गरिएको छ।
पक्राउ परेका मोटरसाइकललाई थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाउने तयारी भइरहेको लम्सालले जानकारी दिए।















