Logo

२९ भदौ,काठमाडौं । जेन–जी आन्दोलनका कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली आजदेखि पुनः सुचारु भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार असहज परिस्थितिका कारण अवरुद्ध भएको भुक्तानी प्रक्रिया अबबाट पुनः नियमित रूपमा सञ्चालनमा आएको हो।

प्रवक्ता पाण्डेयले भने, “असहज परिस्थिति सिर्जना भएकाले केही दिन भुक्तानी रोकिएको थियो। तर अब सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरू क्रमशः गर्दैछ।”सरकारको भुक्तानी प्रणाली सञ्चालनमा आएसँगै सरकारी कर्मचारीहरूले दसैँअघि नै तलब–भत्ता पाउने अवस्था बनेको छ। यो निर्णयले दशैँको तयारीमा रहेका कर्मचारीहरूलाई राहत मिल्ने देखिएको छ।

प्रवक्ता पाण्डेयका अनुसार आइतबारदेखि राजस्व सङ्कलनको काम पनि पुनः सुरु भइसकेको छ। आन्दोलनका क्रममा क्षति पुगेका राजस्व कार्यालयहरूमध्ये अधिकांश भन्सार कार्यालयहरू सञ्चालनमा आइसकेका छन्। पूर्ण क्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य सबै कार्यालय पुनः सञ्चालनमा आइसकेको मन्त्रालयले जनाएको छ।
क्षतिको विवरणः
१४ आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड
४ आन्तरिक राजस्व कार्यालय र ४ भन्सार कार्यालयमा आंशिक क्षति

अर्थ मन्त्रालयले सरकारी सेवा र राजस्व सङ्कलनमा देखिएको अस्थायी अवरोध अब हटिसकेको जनाउँदै आर्थिक कारोबार तथा सेवा प्रवाहलाई नियमित बनाउन सबै निकायलाई सक्रिय रूपमा खटाइएको जानकारी दिएको छ।
सरकारले नागरिक सेवा तथा आर्थिक स्थायित्वमा असर पर्ने गतिविधिहरूप्रति चासो राख्दै, आवश्यक सुरक्षात्मक तथा व्यवस्थापकीय उपायहरू अपनाउने बताएको छ।


सम्बन्धित समाचार
भर्खरै