२९ भदौ,काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सरकारले तोकेको २१ फागुनको निर्वाचन मितिलाई लक्ष्य बनाएर निर्वाचन आयोगले प्रारम्भिक तयारी सुरु गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार स्रोतसाधन सुनिश्चित भए आयोग निर्वाचन गराउन पूर्ण रूपमा तयार छ।
भण्डारीले निर्वाचनको सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सामान्यतः कम्तीमा १२० दिन आवश्यक पर्ने जनाउँदै, आयोगले छ महिनाको अवधिमा निर्वाचन गर्न सक्ने क्षमतामा रहेको बताए।“सरकारले स्रोतसाधन जुटाउनेबित्तिकै आयोग अघि बढ्छ,” आयुक्त भण्डारीले भने, “निर्वाचन प्रक्रियाअन्तर्गत व्यवस्थापन, मतदाता नामावली संकलनलगायतका कामहरू भइरहेकै छन्।”
उनका अनुसार निर्वाचन आयोगको कार्यसञ्चालनमा गृह मन्त्रालय मुख्य समन्वयकर्ता रहेकोले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयबाट निर्वाचन घोषणाको पत्र आएपछि गृह मन्त्रालयमार्फत बाँकी प्रक्रिया अघि बढाइने छ।
भण्डारीले फागुन महिनामा एक तिहाइ राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल सकिने जनाउँदै, सम्बन्धित निर्वाचन माघ दोस्रो साताभित्र गरिसक्नुपर्ने संवैधानिक आवश्यकता रहेको बताए।उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सङ्गसँगै गरिने तयारी आयोगको रहेको स्पष्ट पारे।















