२९भदौ,काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेनजी पुस्ताको आन्दोलनमा प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरू प्रवेश गरेको भन्दै आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीको कडा शब्दमा निन्दा गरेको छ।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको मूल उद्देश्यलाई भड्काउने गरी विध्वंसात्मक गतिविधि भएकोमा गम्भीर आपत्ति जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ’आन्दोलनभित्र घुसेका प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरूले जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भत्र्सना गर्दछ।’
माओवादी कार्यालय र नेताको सम्पत्तिमा आक्रमण, दोषीलाई कारबाही गर्ने चेतावनी
विज्ञप्तिमा माओवादी केन्द्रका कार्यालयहरू र अध्यक्ष प्रचण्डसहित अन्य नेताहरूको निजी सम्पत्तिमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गरिएको छ। यदि यस्ता गतिविधिमा आफ्ना कुनै कार्यकर्ताको संलग्नता पाइएमा कडा कारबाही गर्न तयार रहेको सापकोटाले स्पष्ट पारेका छन्।
उनले माओवादी कार्यकर्ताको नाम जोडेर आधारहीन हल्ला फैलाइएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ’आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी र आन्दोलनलाई कमजोर पार्ने प्रयासप्रति आम जनसमुदायलाई सचेत रहन हामी हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
माओवादी केन्द्रले सरकारलाई पनि यस्ता घटनामा संलग्न दोषीहरूलाई प्रमाणका आधारमा कडा कारबाही गर्न आग्रह गरेको छ।

















