२९भदौ,काठमाडौं । रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा सुदन गुरुङमाथि हातपात भएको छ। कार्यक्रमका क्रममा उनले दिएका उत्तेजक भाषण र जवाफका कारण विवाद चुलिँदा कार्यक्रम स्थलमै झडप भएको हो।
सुदन गुरुङले सम्मेलनमा आफूविरुद्ध लगाइएको आरोपको खण्डन गर्नुको सट्टा उत्तेजक भाषण गर्दै, “अब कुनै नेतालाई घरबाट निस्कन दिइन्न” जस्ता अभिव्यक्ति दिएका थिए। उनले अझै अघि बढ्दै सुशीला कार्कीको नेतृत्वको सरकार नचलेको खण्डमा “ढाल्ने” चेतावनीसमेत दिएका थिए।
कार्यक्रममा सहभागीहरूबाट उनलाई नागरिकता, स्वतन्त्र तिब्बत अभियानसँग सम्बन्ध, र भारतीय संस्थासँगको संलग्नता सम्बन्धी प्रश्नहरू सोधिएका थिए। एक सहभागीले “७३ वर्षको व्यक्ति युवा नेतृत्व कसरी हुन सक्छ?” भनेर सोध्दा उनी झनै उत्तेजित भएका थिए।
“८० वर्षमा नभएको परिवर्तन भएको छ, यही परिवर्तन हो,” भन्दै उनले तीव्र स्वरमा प्रतिक्रिया दिएका थिए।
आन्दोलनको क्रममा भएको आगलागीको विषयमा प्रश्न गर्दा उनले आफूले आगो नलगाएको तर “अन्त्य भनेको हो” भन्दै यो आन्दोलनको सुरुवात मात्र भएको बताएका थिए।
कार्यक्रममा हातमा ब्यान्डेज बाँधेर आएका एक व्यक्तिले सहभागीलाई धकेलेर लखेटेपछि अवस्था झन् तनावग्रस्त भएको थियो। होहल्ला र धकेलाधकेल सुरु भएपछि प्रहरी टोली कार्यक्रम स्थलमा पुगेको थियो र सुदन गुरुङलाई सुरक्षित रुपमा बाहिर निकालेको थियो।
सुदनले राष्ट्रपति निवासमा पुगेका बेला “विदेशीको पानी नखाने” भन्दै अस्वीकार गरेको प्रसंग पनि उल्लेख गरेका थिए।
सुदनले आफू एक्लै भए पनि आन्दोलन जारी राख्ने अडान दोहोर्याउँदै, यस्तो आक्रामक शैली आफ्नो “स्वभाव” भएको बताएका थिए।















