३० भदौ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा पूर्वसचिव रामेश्वर खनाल, गृहमन्त्रालयमा कानुन व्यवसायी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्त हुने पक्का भएको छ।
स्रोतका अनुसार, अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् भने घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय पनि जिम्मेवारी दिइएको छ।
‘यो प्रारम्भिक सूची हो, उहाँहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्छ,’ स्रोतले बतायो, ‘उहाँहरूको नियुक्ति पत्र तयार भइसकेको छ।’ मन्त्रीहरूको शपथग्रहण आजै हुने तय गरिएको छ।
हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा सरकारलाई प्रतिवेदन बुझाएका रामेश्वर खनाल पूर्वअर्थ सचिव हुन्। उनी आर्थिक सुधार र नीति निर्माणतर्फ योगदानका लागि चिनिन्छन्।
कानुन व्यवसायी ओमप्रकाश अर्याल विभिन्न रिट निवेदन तथा सामाजिक आन्दोलनका कारण विगतमा चर्चामा आएका थिए। पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारका रूपमा सक्रिय रहेका थिए।
यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा काम गरेर ‘लोडसेडिङ अन्त्य’ का लागि चर्चित बनेका कुलमान घिसिङ यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा पदमुक्त भएका थिए।















