३० भदौ, बारा। जेनजी प्रदर्शनका क्रममा आफ्नो घरमा आगजनी भएपछि पूर्वमन्त्री तथा बारा–३ की संघीय सांसद ज्वालाकुमारी साहले नेपाली सेना र सशस्त्र प्रहरी बल तत्काल खारेज गर्नुपर्ने कडा माग गरेकी छिन्। आन्दोलनकारीले भदौ २४ गते मंगलबार साँझ उनको घरमा तोडफोड गरी आगजनी गरेका थिए।
जीतपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवामा रहेको पूर्वमन्त्री साहको निवास नजिकै करिब सय मिटरको दूरीमा सशस्त्र प्रहरी बल ४० नं। रिजर्भ गणको कार्यालय छ। घटनाका दिन घरमै रहेकी साहले सुरक्षा निकायलाई खबर गरे पनि अन्तिम समयमा नियोजित ढंगले घर जल्न दिएको आरोप लगाएकी छिन्।
“घटना हुने दिन बाराका सबै सुरक्षा निकायलाई खबर गरेर हामी घरमै बसेका थियौँ,” पूर्वमन्त्री साहले भनिन्, “सशस्त्र प्रहरीका उपरीक्षकले ‘हामी छौँ, केही हुन्न, आराम गरेर बस्नुस्’ भन्नुभएको थियो। उहाँहरूले सुरक्षा दिन्नौँ भन्नुभएको भए हामी आफ्नै कार्यकर्ताको सुरक्षामा राखेर बस्थ्यौँ होला, आज मेरो घर बच्थ्यो होला।”
उनले जलिरहेको घर निभाउन आएको दमकललाई समेत रोकेर आगजनी गरिएको गुनासो गरिन्। ‘म साह्रै पीडित छु, मर्ने अवस्थामा छु, मेरो सहारा भनेको यही घर थियो,’ उनले भनिन्, ‘गाउँमा राम्रो मान्छे भएको भए यसरी घर जल्ने थिएन।’
करिब सात वर्ष लगाएर बालुवा, ढुङ्गा, इँटा, सिमेन्ट जम्मा गरी दाताहरूको सहयोगमा निर्माण सम्पन्न भएको साहको तीनतले घर आन्दोलनकारीले खरानी बनाइदिएका छन्। घरभित्रका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।
नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी साहले देश सय वर्ष पछाडि धकेलिएको र संरचना मात्र नभई महत्त्वपूर्ण कागजपत्रसमेत नष्ट भएको बताइन्। “अव सबै दलहरू मिलेर समाज र देश बचाउन सकेनौँ भने देश अर्काको हातमा जाँदैछ। यो आन्दोलनले खर्र्बौंको नोक्सानी भएको छ, यो नोक्सानी बेहोर्न सय वर्ष लाग्छ,” उनले भनिन्।
साहका पति तथा नेकपा एमाले बाराका सहसचिव अमृत बजगाईँले थोपा–थोपा सिञ्चित गरेर बनाएको घर एकै झट्कामा खरानी हुँदा साह्रै पीडा भएको बताए। “हाम्रो घर जल्दा छेउमै रहेको सशस्त्र प्रहरी गण मुखदर्शक भएर बस्यो। यो सम्पूर्ण घटना गराउनमा सशस्त्र प्रहरी र नेपाली सेनाको ठूलो भूमिका छ,” बजगाईँले आरोप लगाए। “देशभर भएका आगजनीको क्षतिको सशस्त्र र सेनाले जिम्मा लिनुपर्छ।”
उनले घर जलाउने तत्वहरूलाई पहिचान गरी कानुनी कठघरामा ल्याउनुपर्ने माग गरे। घटनाका दिन पूर्वमन्त्री साहको परिवार सुरक्षा घेराभित्र सुरक्षित रहे पनि २ करोड ५० लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ।
यो घटना करिब सय मिटर टाढा रहेको सशस्त्र प्रहरी गणको उपस्थिति र निष्क्रियताका कारण भएको आरोपका बिषयमा थप अनुसन्धानको आवश्यकता देखिएको छ।















