Logo

जेनजी आन्दोलनले मुलुकभरि राजनीतिक सचेतनाको लहर चलाइरहँदा यसको प्रत्यक्ष प्रभाव मधेश केन्द्रित दलहरूमा समेत देखिन थालेको छ। युवा पुस्ताको पुरानो नेतृत्वप्रति अस्वीकारभावका कारण अब सत्ता र प्रतिपक्षका ठूला दलहरूसँगै क्षेत्रीय दलहरूमा पनि नेतृत्व हस्तान्तरणको बहस गम्भीर बन्दै गएको छ।

विशेषगरी जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय मुक्ति पार्टी जस्ता मधेश केन्द्रित दलहरूमा दशकौंदेखि एउटै नेताहरूको वर्चस्व कायमै रहँदै आएको छ, जुन अब युवा र कार्यकर्ता तहबाट चुनौतीका रूपमा उठ्न थालेको छ।

जसपामा १८ वर्षदेखि उपेन्द्र यादवको एकछत्र नेतृत्व

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सन् २०५४ सालमा स्थापित मधेसी जनअधिकार फोरमदेखि लिएर आजसम्म निरन्तर अध्यक्ष पदमा छन्। पार्टीको नाम र संरचना पटक–पटक फेरिए पनि नेतृत्वमा कुनै परिवर्तन नभएको कार्यकर्ताहरूको गुनासो छ। पार्टीभित्र समय–समयमा नेतृत्व परिवर्तनको माग उठे पनि यादवले आफ्नो पद जोगाइरहन सफल भएका छन्।

लोसपामा पनि महन्थ ठाकुरको स्थायीता

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी स्थापना भएयता नेतृत्वमा निरन्तर छन्। ८३ वर्षीय ठाकुरले १८ वर्षको अवधिमा केवल एकपटक मात्र महाधिवेशन गराएका छन्। युवा नेताहरूको नेतृत्वमा अवसर हुनुपर्ने आवाज बलियो बन्दै जाँदा पार्टीले आगामी चैत ६ र ७ गते महाधिवेशन गर्ने तयारी गरेको छ।

राष्ट्रिय मुक्ति पार्टीमा राजेन्द्र महतोको पकड

राजेन्द्र महतोले सद्भावना पार्टीबाट छुट्टिएर स्थापित गरेको पार्टीमा आफ्नो एकल नेतृत्व कायम राख्दै आएका छन्। लोसपामा प्रवेशको असफल प्रयासपछि उनले राष्ट्रिय मुक्ति पार्टी गठन गरेका थिए। ६७ वर्षीय महतोले हालसम्म नेतृत्व हस्तान्तरणको कुनै संकेत दिएका छैनन्।

नयाँ पुस्ताको प्रश्न: “कति वर्ष एउटै अनुहार?”

जेनजी आन्दोलनमार्फत आवाज उठाइरहेका युवाहरूले राजनीतिक दलभित्र संस्थागत लोकतन्त्रको अभ्यास र आन्तरिक प्रतिस्पर्धाको खाँचो औंल्याउँदै आएका छन्। “लोकतन्त्रको कुरा गर्नेहरूले पार्टीभित्र किन लोकतन्त्र लागू गरेनन्?” भन्ने प्रश्न युवाहरूको मुख्य नाराको रूपमा देखिएको छ।

विश्लेषकहरूका अनुसार जेनजी आन्दोलनको दबाबले पुराना नेताहरूको स्थायीत्वमा अब प्रश्न उठ्न थालेको छ। यो प्रवृत्ति कायम रहेमा मधेश मात्र होइन, देशव्यापी रूपमा नेतृत्वको पुस्तान्तरण अपरिहार्य बन्ने संकेत देखिन्छ।


सम्बन्धित समाचार