३० भदौ,वीरगञ्ज । जेनजी आन्दोलनपछि लगाइएको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले खुकुलो बनाउँदै हटाउने निर्णय गरेको छ।
प्रशासनले आज एक सूचना जारी गर्दै बिहान ५ बजेदेखि साँझ ९ बजेसम्म लाग्दै आएको निषेधाज्ञा आदेश हटाएको जानकारी दिएको हो। शान्ति सुरक्षाको अवस्था क्रमशः सुध्रँदै गएको र नागरिकको जनजीवन सामान्य बनाउने आवश्यकताको कारणले निर्णय लिइएको प्रशासनले जनाएको छ।यस निर्णयसँगै नागरिकको आवागमन, व्यापार–व्यवसाय र दैनिक सेवा–सुविधाहरू सहज रूपमा सञ्चालन हुन थालेका छन्।
संवेदनशील क्षेत्रहरूमा भने कफ्र्यू कायमै
यद्यपि, वीरगञ्ज महानगरपालिकाका केही संवेदनशील क्षेत्रमा भने कफ्र्यू र दंगाग्रस्त क्षेत्रको आदेश यथावत् राखिएको छ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र, साथै कारागार कार्यालय पर्सा र त्यसको कम्पाउन्डभित्रको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणासहित रात्रिकालीन कफ्र्यू कायम गरिएको हो।
प्रशासनले जनाए अनुसार, शान्ति सुव्यवस्था थप मजबुत भएपछि ती आदेशहरूमाथि पनि पुनर्विचार गरिनेछ।प्रशासनले जिल्लाभरिका सबै सरकारी कार्यालयहरू भदौ २९ गतेदेखि नियमित रूपमा सेवा दिन सुरु गरिसकेको जानकारी दिएको छ।
आन्दोलनका कारण सेवा लिन नपाएका सेवाग्राहीलाई ध्यानमा राख्दै, भदौ २४ गते राष्ट्रिय परिचयपत्रका लागि टोकन लिएका नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने बताइएको छ। जिल्ला प्रशासन कार्यालयले शान्ति र सुव्यवस्था कायम राख्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जारी आदेशहरूको पालना गर्न सवै जिल्लाबासीलाई आग्रह गरेको छ।
















