Logo

३० भदौ, वीरगञ्ज । जेनजी आन्दोलनको क्रममा घाइते भएकी नगर प्रहरी जवान अन्जली पटेलको वीरगञ्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार गरेको छ । वीरगञ्ज महानगरपालिकामा कार्यरत २४ वर्षीया पटेलको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले मिनाहा गरेको हो ।

गत मंगलबार जेनजी आन्दोलनको क्रममा वीरगञ्ज महानगरपालिका कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड तथा आगजनी गरेका थिए । सोही क्रममा दोस्रो तलामा ड्युटीमा रहेकी प्रहरी जवान पटेललाई प्रदर्शनकारीहरूले बाहिरबाट भर्याङ् लगाई तल झारेका थिए । त्यसक्रममा भएको ढुंगामुढाबाट टाउकोमा गम्भीर चोट लागेपछि उनी घाइते भएकी थिइन् ।

घटनापछि उनलाई तत्काल उद्धार गरेर वीरगञ्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो । अस्पतालमा दुई दिनसम्म उपचारपछि उनको अवस्था सामान्य भएको र बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

वीरगञ्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष डा. अबुल हैस अन्सारीका अनुसार, “नगर प्रहरी जवान पटेलको उपचारमा लागेको सबै शुल्क र औषधि खर्च अस्पतालले पूर्ण रूपमा मिनाहा गरेको छ । यो सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको हो ।”

अस्पतालको यो कदमले गम्भीर अवस्थामा रहेकी सुरक्षाकर्मीप्रतिको सहानुभूति र सेवाभाव दर्शाएको बताइएको छ । घाइते पटेल अहिले घरमै विश्राममा रहेकी छन् ।


सम्बन्धित समाचार