३१ भदौ, काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा देशभरका कारागारबाट फरार भएका कैदीबन्दीमध्ये हालसम्म ४ हजार ७७४ जना पुनः सम्पर्कमा आएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार धेरैजसो कैदी स्वस्फूर्त रूपमा फर्किएका हुन् भने केहीलाई नियन्त्रणमा लिनुपरेको छ।
भदौ २४ गते आन्दोलनका कारण अवस्था तनावग्रस्त बनेपछि देशभरबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार भएका थिए। तीमध्ये केवल केन्द्रीय कारागार जगन्नाथ देवलबाट मात्रै करिब ३५ सय कैदीबन्दी भागेका थिए। सोही क्रममा नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि कारागारबाट फरार भएका थिए। उनी अहिलेसम्म फर्किएका छैनन्।
केन्द्रीय कारागारका जेलर कृष्ण कटुवालका अनुसार रायमाझीले असुरक्षा बढेपछि निस्किएको र केही दिनमै फर्कने जानकारी गराएका छन्।
यसैबीच, नख्खु कारागारबाट रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने भागे पनि पछि कारागारमा हाजिर भइसकेका छन्। डिल्लीबजार कारागारमा रहेका पूर्वप्रदेशमन्त्री दीपक मनाङे भने सुरुदेखि नै कारागारमै बसेका छन्।
कारागार व्यवस्थापन विभागले बाँकी फरार कैदीबन्दीलाई पनि स्वेच्छाले कारागार फर्कन आह्वान गरेको छ।















