Logo

३१ भदौ, काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा सोमबार भएको भीषण सडक दुर्घटनामा एकैघरका तीनसहित चार जना नेपालीको मृत्यु भएको छ।

मृतकमध्ये सबै सल्यानको कुमाख गाउँपालिका–४ का रहेका छन्। माओवादी केन्द्रका नेता रमेश मल्लका अनुसार रोजगारीका लागि हिमाञ्चल पुगेका उनीहरू सवार गाडी कोटखाई नजिकै कुड्डु नालामा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका हुन्।

मृतकमा ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। उनीहरूको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन् भने एकेन्द्र, डिल्लीबहादुरका जेठा दाइका छोरा हुन्। यसरी एउटै परिवारका तीन सदस्यले ज्यान गुमाउँदा गाउँमा शोकको वातावरण छाएको छ।

स्थानीयका अनुसार नवराज र हिमबहादुर गाडीको ढाला पछाडि बसेकाले फाल हानेर ज्यान जोगाएका थिए। यस दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएको छ।

मृतकको शव पोष्टमार्टमपछि नेपाल ल्याउने तयारी भएको छ। मृतकका परिवारलाई किरिया खर्चसहित भारतीय पक्षले प्रति व्यक्ति ४ लाख २५ हजार रुपैयाँ राहत दिने जानकारी नेता मल्लले दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानले भने यससम्बन्धी आधिकारिक जानकारी आफूहरूलाई प्राप्त नभएको जनाएको छ।


सम्बन्धित समाचार