३१ भदौ,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रसूति गृह भवनमा रहेको एनआईसीयू (नवजात शिशु कक्ष) को स्टोर कोठामा आगलागी भएको छ।
मंगलबार बिहान करिब ४ बजे तिर तेस्रो तल्लामा रहेको स्टोर कोठामा अचानक आगलागी भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन्।उनका अनुसार आगलागीबाट स्टोर कोठामा रहेका सबै सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। यद्यपि, मानवीय क्षति भने नभएको स्पष्ट गरिएको छ।
अग्निनियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाबाट वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुमानअनुसार विद्युत सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।
अस्पताल प्रशासनले आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जानकारी दिएको छ।

















