३१ भदौ, काठमाडौं । शान्ति र सुरक्षाको जिम्मेवारी बोकेका प्रहरीहरू नै असुरक्षित बनेपछि तीन परिवारले आफ्ना सन्तान गुमाएका छन् ।
हालै भएको जेन-जी आन्दोलनमा प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङको निर्मम हत्या भएको छ। यी तीनै जना आफ्ना परिवारका एक मात्र सहारा थिए । तर, उग्र बनेको भीडले उनीहरूको ज्यान मात्रै लिएन, तीन परिवारको भविष्य पनि खोसिदियो।
अन्धाधुन्ध आक्रमण
महाराजगञ्ज वृत्तमा क्राइम सिन अफिसरको रूपमा कार्यरत असई मिलन राय आन्दोलनका बेला सादा पोशाकमा थिए। उनी कार्यालय फर्किएपछि हिरासतमा रहेका थुनुवाहरूलाई छोड्ने निर्णय भयो। प्रहरीको अनुमान छ कि, ती थुनुवाहरूले नै ‘यो पनि प्रहरी हो’ भन्दै रायलाई चिनाएपछि उनीमाथि निर्मम आक्रमण भयो।
रामेछापका रायले सानैमा बुवा गुमाएका थिए। एक वर्षअघि मात्रै विवाह गरेका उनकी श्रीमती अहिले जापानमा छिन्। रायको हत्यापछि उनको परिवारमा शोकको पहाड खसेको छ।
भाइ गुमाएको ७ महिनामै दाजुको हत्या
दार्चुलाका प्रहरी जवान उत्तम थापा पनि सादा पोशाकमा नै थिए। ‘यो डीएसपी हो’ भन्दै उनलाई निर्मम तरिकाले कुटपिट गरेर हत्या गरियो । उनको हत्याको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसले घटनाको बर्बरता देखाउँछ । ७ महिनाअघि मात्रै भाइ गुमाएका उत्तम आफ्नी आमाको एक्लो सहारा थिए। उनको मृत्युपछि परिवारमा बज्रपात परेको छ।
आमा गुमाएको शोकमाथि छोरा गुमाएको पीडा
कास्कीका सहायक हवल्दार अमृत गुरुङ पनि कोटेश्वरमा भएको आन्दोलनमा मारिए। ९ महिनाअघि आमा गुमाएका गुरुङको हत्याले उनका वृद्ध बुवा, श्रीमती र ७ महिनाको छोरालाई सहाराविहीन बनाएको छ। आन्दोलनकारीले कोटेश्वर प्रहरी प्रभागमा आगजनी गरेपछि भागेर ज्यान जोगाउन खोज्दा उनीमाथि धारिलो हतियार प्रहार गरियो।
प्रहरीमाथि बर्बरता र भविष्यको चिन्ता
जेन-जी आन्दोलनका क्रममा राजधानीभित्र मात्रै १५३ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ। तीन प्रहरीको हत्या र अन्यको निर्मम कुटपिटपछि प्रहरीको मनोबल गिरेको छ । ‘आँखै अगाडि सहकर्मीहरू विभत्स तरिकाले मारिँदा प्रहरीहरू त्रसित भएका छन् एक प्रहरी अधिकारीले भने।
प्रहरीको ज्यान लिनेहरूको खोजी र कारबाही नभएसम्म पीडित परिवारले न्यायको महसुस गर्न नसक्ने उनीहरूको भनाइ छ। सरकारले यस घटनामा तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग उठेको छ।















