३१ भदौ, काठमाडौं । नेपालको व्यापारिक गतिविधिले चालु आर्थिक वर्षको सुरुमै मिश्रित नतिजा देखाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आयातमा उल्लेख्य वृद्धि हुँदा देशको व्यापार घाटा बढेको छ, तर अर्कोतर्फ निर्यातमा भएको तीव्र वृद्धिले भने आशाको किरण जगाएको छ।
आयातको दबाब र व्यापार घाटा
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २।५५ बढी हो। यो वृद्धिको मुख्य कारण १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको कुल आयात हो। भारत, चीन र अन्य देशबाट हुने आयातमा क्रमशः ७ दशमलव ५ प्रतिशत, १४ दशमलव १ प्रतिशत र २० दशमलव ५ प्रतिशत ले वृद्धि भएको छ। खासगरी, यातायातका साधन, चामल, कोइला र रासायनिक मलजस्ता वस्तुको आयात बढेको देखिन्छ।
निर्यातमा ऐतिहासिक उछाल
चिन्ताको विषय आयात भए पनि नेपालको निर्यातमा भने ९५ दशमलव ७ प्रतिशतको ऐतिहासिक वृद्धि भएको छ। साउनमा कूल २३ अर्ब ९३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। यो वृद्धि मुख्यगरी भारततर्फको निर्यातमा आएको १५६ दशमलव ७ प्रतिशतको उछाल का कारण सम्भव भएको हो। भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची र जुटका सामानजस्ता केही वस्तुको निर्यातमा सुधार देखिएको छ।
यद्यपि, चीन र अन्य मुलुकतर्फको निर्यात भने घटेको छ। समग्रमा, निर्यातमा आएको यो उछालले व्यापार घाटा कम गर्न मद्दत गर्ने सम्भावना देखाएको छ, तर व्यापार सन्तुलन कायम गर्न अझै चुनौती रहेको देखिन्छ।















