३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालको अर्थतन्त्रले ठूलो राहत पाएको छ।
विदेशमा कार्यरत नेपालीहरूले पठाएको रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकद्वारा सोमबार जारी गरिएको विवरणअनुसार, साउनमा कुल १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा २९।९ प्रतिशतले बढी हो। गत वर्ष साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेर १ अर्ब २७ करोड डलर पुगेको छ।
रेमिट्यान्स वृद्धिको कारण
यो वृद्धिको मुख्य कारण वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा भएको वृद्धि हो। साउन महिनामा संस्थागत तथा व्यक्तिगत गरी कुल ४४ हजार ४६६ नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । गत वर्षको तुलनामा यो संख्यामा उल्लेख्य वृद्धि भएको छ। यस्तै, पुनःश्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ।
रेमिट्यान्सको यो प्रवाहले नेपालको विदेशी मुद्रा सञ्चिति बढाउन र समग्र अर्थतन्त्रलाई टेवा दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसबाट नेपाली मुद्राको क्रयशक्तिसमेत बलियो बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।















