३१ भदौ, काठमाडौं । गत भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरूको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमपछि मृतकका शवहरू आफन्तलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि शवयात्रासहित उनीहरूको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट पुर्याइएको थियो।
शवयात्रामा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका मन्त्रीहरू सहभागी भएका थिए। उनीहरूले मृतकहरूको शवमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। शवयात्रामा सहभागी आफन्त तथा शुभेच्छुकहरू शोकविह्वल देखिएका थिए।
सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट जेन-जी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र प्रत्येक मृतक परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो। साथै, सरकारले असोज १ गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गरी सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।
आज अन्त्येष्टि गरिएकाहरूमा अनिष पराजुली, प्रविण कुलुङ, सन्तोष विश्वकर्मा, विजय चौधरी, दिपेश सुनुवार लगायतका मृतकहरू थिए।















