३१ भदौ, काठमाडौं । जेन–जी आन्दोलनपछि नेपालको सेयर बजार बन्द गराएको विषयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ विवादमा तानिएका छन् ।
केही लोभीपापी लगानीकर्ताको स्वार्थ पूरा गर्न उनले करिब दुई साता बजार बन्द गरेको र अहिले आफ्नो गलत निर्णयलाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लागेको छ । आन्दोलन मत्थर भइसकेपछि पनि बोर्डले भदौ २९ गतेदेखि असोज २ गतेसम्मका लागि बजार बन्द गराएको थियो। यसरी धितोपत्र बोर्डले केही स्वार्थ समूहको इसारामा लगातार आठ दिनसम्म सेयर कारोबार ठप्प पारेको छ। यसबाट लाखौँ लगानीकर्ताको सम्पत्ति बन्धक बनेको छ र उनीहरूले खरिद–बिक्री गर्न पाएका छैनन्।
‘थर्मल गन ग्याङ’ र भूराजनीतिक संकटको आशंका
बोर्ड अध्यक्ष श्रेष्ठको नियुक्तिमा नै ‘थर्मल गन ग्याङ’ भनिने एक बदनाम स्वार्थ समूहको हात रहेको आरोप छ। यस समूहले कोरोना महामारीको बेला थर्मल गनको कालोबजारी गरेको आरोप खेपेको थियो । अहिले त्यही समूहको स्वार्थमा श्रेष्ठले काम गरेको आरोप लागेको छ। समाचारमा थप गम्भीर विषय उल्लेख गरिएको छ। जेन–जी आन्दोलनको जस लिँदै सरकार निर्माणमा संलग्न देखिएको ‘हामी नेपाल’ नामक संस्थाको सम्बन्ध ‘थर्मल गन ग्याङ’ र तिब्बतलाई स्वतन्त्र बनाउन अभियान चलाउने ‘स्टुडेन्ट फर अ फ्री तिब्बत’ सँग पनि जोडिएको छ। यस सम्बन्धले नेपालमा भूराजनीतिक संकट निम्त्याउन सक्ने अड्कलबाजी गरिएको छ।
कर्मचारी र लगानीकर्ता दुवै रुष्ट
बोर्ड अध्यक्ष श्रेष्ठमाथि लागेका आरोपहरूको सूची लामो छ । उनीमाथि आईपीओका लागि कमिसन मागेको, नेप्सेलाई डुबाएर अर्को स्टक एक्सचेन्ज ल्याउन खोजेको र कर्मचारीको वृत्तिविकासमा ध्यान नदिएको जस्ता आरोपहरू छन् । यसै कारण उनी नियुक्ति भएदेखि नै विवादमा छन् ।
अनावश्यक रूपमा सेयर बजार बन्द गराएकोमा लाखौँ लगानीकर्ता र बोर्डका कर्मचारीहरू दुवै उनीसँग रुष्ट छन्। बजारमा कुनै प्राविधिक वा अन्य समस्या नहुँदा पनि विशुद्ध स्वार्थ समूहको दबाबमा बजार बन्द गरिएको कर्मचारीहरू बताउँछन्।















