Logo

३१ भदौ, काठमाडौं । चाडपर्व नजिकिएसँगै यस वर्ष राजधानी उपत्यकाबाट बाहिरिने यात्रुको चाप ह्वात्तै बढेको छ।

विगतका वर्षहरूमा घटस्थापनादेखि मात्रै चाप देखिने गरेकामा यस पटक भने त्यसअघि नै ठूलो संख्यामा यात्रुहरूले उपत्यका छाडेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, पछिल्लो तीन दिनमै करिब चार लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

भाडा वृद्धि नहुने, सुरक्षित यात्राको प्रतिबद्धता

यात्रुको चाप बढे पनि यातायात व्यवसायीहरूले भाडा नबढाउने प्रतिबद्धता जनाएका छन् । महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर भाडा वृद्धि नगरी सेवा प्रवाहमा केन्द्रित हुने बताएका छन् । यस वर्ष अग्रिम टिकट प्रणालीको सट्टा गाडीको उपलब्धताका आधारमा टिकट काट्ने व्यवस्था मिलाइएको छ ।

यातायात विभागको तयारी

यातायात व्यवस्था विभागले पनि चाडपर्वमा यात्रुको सुरक्षित र सहज आवागमनका लागि आवश्यक तयारी गरेको जनाएको छ। विभागका महानिर्देशक राजीव पोखरेलले सडकमा सुशासन कायम गर्न र अवरोध हुन नदिन सडक विभागसँगको सहकार्यमा डोजर लगायतका उपकरणको व्यवस्था गरिने बताएका छन्।

साथै, भाडादर पारदर्शी बनाउन विभिन्न ठाउँमा यात्रु सहायता कक्ष र भाडादरका बोर्डहरू राखिने जानकारी पनि उनले दिएका छन्।


सम्बन्धित समाचार