३१ भदौ, काठमाडौं । नेपालकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र उनका भारतीय समकक्षी नरेन्द्र मोदी बीच आगामी बिहीबार फोनवार्ता हुने भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार, बिहीबार बिहान साढे ११ बजेका लागि वार्ताको समय तय गरिएको छ। यसअघि मंगलबार नै वार्ताको तयारी भएको भए पनि राष्ट्रिय शोक दिवसका कारण वार्ता सारिएको हो । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले भारतीय प्रधानमन्त्रीसँग पहिलो औपचारिक कुराकानी गर्न लागेकी हुन् ।
मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै उनको नेतृत्व महिला सशक्तीकरणको उदाहरण भएको बताएका थिए। यस फोनवार्तामा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने अपेक्षा गरिएको छ।















