३१ भदौ, काठमाडौं । जेन–जी आन्दोलनले काठमाडौँ उपत्यकाको प्रहरी संरचनामा ठूलो क्षति पुर्याएको छ।
उपत्यका प्रहरी कार्यालयका अनुसार, आन्दोलनकारीले प्रहरीका १२२ भवनमा पूर्ण आगजनी गरेका छन् । उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले दिएको जानकारीअनुसार, भदौ २४ मा भएको तोडफोड र आगजनीले प्रहरीका कुल २१८ भवनमा क्षति पुगेको छ, जसमध्ये ९६ वटामा आंशिक क्षति भएको छ ।
सवारीसाधन पनि अछुतो रहेनन्
प्रहरीका भवन मात्र नभएर सवारीसाधनहरूमा पनि व्यापक नोक्सान पुगेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी प्रहरीका १२१ वटा गाडीमा आगजनी गरिएको छ। तीमध्ये ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् भने ४ वटामा आंशिक क्षति भएको छ । यसका साथै, १५८ वटा दुई पांग्रे सवारीसाधन, साइबर ब्युरोका ४ वटा गाडी, रानीपोखरीस्थित सशस्त्र प्रहरीका ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा पनि आगजनी भएको छ। रानीपोखरीमा भेटिएको एउटा टोयोटा गाडीको पहिचान भने अझै खुल्न सकेको छैन ।
यो घटनाले सरकारी सम्पत्तिको सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ, जसको समाधान खोज्न सरकारलाई चुनौती थपिएको छ।















