काठमाडौं, भदौ ३१ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।
मंगलबार मन्त्री घिसिङको पदभार ग्रहण समारोहमा अनुपस्थित रहेका शाक्यले फेसबुकमा पोस्ट गर्दै बधाई र शुभकामना व्यक्त गरेका हुन् । ‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ,’ शाक्यले लेखेका छन् । उनले मन्त्री घिसिङको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण ऊर्जा क्षेत्रको सफलता र समृद्ध नेपालको कामनासमेत गरेका छन् ।
दुई प्रतिस्पर्धीबीचको सम्बन्ध अब कस्तो?
शाक्य र घिसिङबीचको सम्बन्ध विगतमा निकै उतारचढावपूर्ण रहेको छ। दुवैले पालैपालो नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए। २०७८ सालमा प्रचण्ड नेतृत्वको सरकारले शाक्यलाई हटाएर घिसिङलाई पुनः नियुक्त गरेको थियो। त्यसपछि केपी ओली नेतृत्वको सरकारले घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो।
घिसिङलाई पदबाट हटाएको पाँच महिनापछि नै उनी मन्त्री बनेर फर्किएका छन्, जसले यी दुईबीचको भावी सम्बन्धबारे नयाँ चर्चा सुरु भएको छ। घिसिङ मन्त्री बनेपछि पहिलो निर्णय नै उद्योगबाट बाँकी बक्यौता उठाउने निर्देशन दिएका छन्, जुन विषयमा उनी विगतमा पनि सक्रिय थिए।
हाल विदेश भ्रमणमा रहेका शाक्य विभागीय मन्त्रीको पदभार ग्रहण कार्यक्रममा अनुपस्थित भए पनि सामाजिक सञ्जालमार्फत दिएको बधाईलाई चासोका साथ हेरिएको छ। के यी दुईबीचको पुरानो प्रतिस्पर्धा अब मन्त्री र मातहतको कर्मचारीबीचको सुमधुर सम्बन्धमा परिणत होला तरु















