Logo

३१ भदौ,सिरहा । जेनजी आन्दोलनको क्रममा सिराहा जिल्लामा सरकारी तथा निजी गरी कम्तीमा ३७ वटा भौतिक संरचनामा तोडफोड र आगजनीबाट क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार १२ स्थानीय तहका कार्यालयसहित थुप्रै महत्वपूर्ण सरकारी निकायमा आंशिकदेखि पूर्ण क्षति पुगेको हो।

प्रदर्शनका क्रममा सातवटा वडा कार्यालय, जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान र नेपाल खाद्य संस्थान लहानमा तोडफोड तथा आगजनी गरिएको प्रहरीको रिपोर्टमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानका अनुसार, आन्दोलनकारीहरूले पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, संघीय सांसद एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह, गोलबजार नगरप्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र गोलबजार–६ का वडाध्यक्ष संजीव लामाको निजी सम्पत्तिमा समेत क्षति पु¥याएका छन्।

सुरक्षा निकायहरू पनि आन्दोलनको मारमा परेका छन्। नेपाल प्रहरीका आठवटा चौकीमा तोडफोड तथा दसवटामा आगजनी भएको छ। प्रहरी प्रयोग गर्दै आएको तीनवटा सवारीसाधन र छ वटा मोटरसाइकलमा तोडफोड भएको छ, जसमा तीनवटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

त्यस्तै, तीनवटा सञ्चार सेटमा पनि क्षति पुगेको छ। आन्दोलनका क्रममा ९ जना प्रहरी सामान्य घाइते भएको प्रहरीको भनाइ छ, भने सर्वसाधारणतर्फ कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ।

प्रहरीले अझै पनि क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ। स्थानीय प्रशासनले शान्ति–सुरक्षाको अवस्थालाई सामान्य अवस्थामा ल्याउन प्रयास गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार