१ असोज, वीरगञ्ज । बंगलादेशले एसीसी टी-२० एसिया कपमा अफगानिस्तानमाथि ८ रनको रोमान्चक जित हात पारेकोछ । योसँगै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच सुपर फोरमा पुग्न रोमाञ्चक समिकरण बनेकोछ ।
जित्नलाई १ सय ५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा १ सय ४६ रनमा अल आउट भयो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ र आजमतुल्लाह ओमरजाईले ३० रन बनाउँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन ।
स्पिनर नासुम अहमदले इनिङ पहिलो बलमै राम्रो लयमा भएका सेदिकउल्लाह अटल लाई एलबीडब्लू आउट गर्दै बंगलादेशलाई चाहेजस्तो सुरुवात दिलाए । नासुमले अर्को ओभरमा इब्राहिम जर्दानलाई ५ रनमा एलबीडब्लू आउट गरेपछि पावर प्लेमा बंगलादेश हाबी बनेको थियो । रिसाद हसनले गुलबदिन नाइबलाई १६ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए ।
खराब लयबाट गुज्रिएका ओपनर रहमानउल्लाह गुरबाज ३१ बलमा समान दुई चौका र छक्कासहित ३५ रनमा आउट भएपछि अफगानिस्तानलाई जित मुश्किल देखिएको थियो । एक समय १३ ओभरमा ७७-५ को अवस्थामा पुगेको अफगानिस्तानलाई आजमतुल्लाह ओमरजाईले १४ औं ओभरमा पार्टटाइम स्पिनर सैफ हसनलाई दुई छक्का र १ चौकासहित कुल २० रन प्रहार गरेपछि खेलमा फर्किएको थियो ।
तर तीव्र गतिका बलर तस्किन अहमदले उनलाई १६ औं ओभरको चौथो बलमा ३० रनमा क्याच आउट गराएपछि बंगलादेश पुन खेलमा फर्कियो । उनले १६ बलमा १ चौका र ३ छक्का हाने । त्यसपछि अन्तिम आशाको रुपमा करिम जन्नत र राशिद खान थिए । राशिद खानसँग तालमेल नमिल्दा जन्नत १८ औं ओभरको पहिलो बलमा रन आउट भए ।
अफगानिस्तानलाई अन्तिम १२ बलमा २७ रन चाहिँदा अनुभवी बलर मुश्ताफिजुर रहमान १९ औं ओभर बलिंग गर्न आएका थिए । राशिद खानले पहिलो बलमा चौका हानेपनि दोस्रो बलमा तस्किन अहमदबाट राशिद खानलाई २० रनमा क्याच गराएपछि बंगलादेशको जितलगभग पक्कापक्की बनेको थियो ।
बंगलादेशका मुश्ताफिजुर रहमानले सर्वाधिक ३, रिसाद हसन, नासुम अहमद र तस्किन अहमदले २-२ विकेट लिए ।
त्यसअघि आबुधावीमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५४ रन बनाएको थियो । बंगलादेशका ओपनर तान्जिद हसनले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । अर्का ओपनर सैफ हसनले २८ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए ।
ओपनर परिवर्तन गर्ने निर्णयलाई सहि सावित गर्दै जान्जिद र सैफले ६.४ ओभरमा ६३ रनको साझेदारी गरेका थिए । तर पावरप्लेपछी अफगानिस्तानको स्पिनसामु भने राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान लिटन दास ९, तिव्हिद हिर्दोय २६ र शमिम हुसेन ११, जाकेर अली र नुरुल हसनले १२-१२ रन बनाए ।
अफगानिस्तानका राशिद खान र नुर अहमदले २-२ विकेट लिए । समान ४ ओभर बलिङ गर्दा राशिदले २६ र नुरले २३ रन दिदै बंगलादेशलाई विशाल योगफल बनाउनबाट रोकेका थिए । त्यस्तै आजमतुल्लाह ओमरजाईले १ विकेट लिए ।
समूह बी मा श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा श्रीलंका विजयी भएमा अपराजित रहँदै समूह विजेताको रुपमा सुपर फोरमा पुग्नेछ । श्रीलंका विजयी हुँदा बंगलादेश पनि ४ अंकका साथ सुपर फोरमा पुग्नेछ ।
तर अन्तिम खेलमा अफगानिस्तान विजयी भएमा भने श्रीलंका, बंगलादेश र अफगानिस्तानको समान ४-४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहने दुई टोली सुपर फोरमा पुग्नेछन् । हाल श्रीलंकाको नेटरनरेट प्लस १.५४६, बंगलादेशको माइनस ०.२७० र अफगानिस्तानको प्लस २.१५० छ ।
बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमाछ । अफगानिस्तान २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।
समूह ए बाट भारत लगातार दुई जितका साथ सुपर फोरमा पुगि सकेको छ । बुधबार युएई र पाकिस्तानबीचको विजेता पनि सुपर फोरमा पुग्नेछ । सुपर फोरमा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

















