Logo

१ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष राष्ट्रिय शिक्षा दिवस औपचारिक रूपमा नमनाउने भएको छ। हालैको जेनजी आन्दोलनका क्रममा मन्त्रालयलगायतका सरकारी संरचनामा भएको आक्रमण र क्षतिका कारण कार्यक्रम स्थगित गरिएको हो।

प्रत्येक वर्ष असोज २ गते विशेष समारोहसहित शिक्षा दिवस मनाउँदै आइएको छ। यस अवसरमा राष्ट्रियस्तरमा पदक तथा प्रमाणपत्र प्रदान गर्ने, उत्कृष्ट शिक्षाकर्मीलाई सम्मान गर्ने र विभिन्न पुरस्कार वितरण गर्ने कार्यक्रम हुने गर्थ्यो। तर, यस पटक त्यस्ता गतिविधि आयोजना गर्न नसकिने मन्त्रालयका सचिव चूडामणि पौडेलले जानकारी दिए।

सचिव पौडेलले भने, “अप्ठ्यारो परिस्थितिका कारण यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम गर्न सकिँदैन। यद्यपि दिवसको सन्दर्भमा शुभकामना सन्देश भने दिइनेछ।”

जेनजी आन्दोलनका क्रममा भएको आगजनीले सिंहदरबारस्थित मन्त्रालयको भवनलाई गम्भीर क्षति पुर्‍याएको छ। भवनको भित्ता, कार्पेट, कुर्सी लगायतका संरचना धुवाँ र कालो दागले प्रभावित भएकाले तत्काल त्यहाँबाट कार्यसम्पादन सम्भव नभएको मन्त्रालयले जनाएको छ। यसअघि मन्त्रालयले दिवस मनाउनका लागि आवश्यक तयारी सुरु गरिसकेको थियो।

अहिलेकै अवस्थामा काम अवरुद्ध हुन नदिन मन्त्रालयले केही समयका लागि केशरमहलबाट कार्य सञ्चालन गर्ने तयारी गरेको छ। सिंहदरबारमा सर्ने अघि पनि सो मन्त्रालयको कार्यसम्पादन त्यहीँबाट हुने गर्थ्यो।

यसैबीच, सहसचिव वैकुण्ठ अर्यालका अनुसार क्षतिग्रस्त संरचनाको सरसफाइमा करिब ७ लाख रुपैयाँ खर्च हुने देखिएको छ। एक निजी कम्पनीमार्फत सरसफाइ कार्य गर्ने तयारी भइरहेको छ। अर्यालका शब्दमा, “कम्पनीले कुनै संरचना बनाउने भने होइन, तर भित्तादेखि सिँढी, कुर्सी र कार्पेटसम्म लागेको धुवाँको कालो दाग सफा गर्ने जिम्मा लिनेछ।”

यसरी जेनजी आन्दोलनका कारण शिक्षा मन्त्रालयको भौतिक संरचना मात्र नभई यस वर्षको शिक्षा दिवस पनि प्रभावित बनेको छ।


सम्बन्धित समाचार