Logo

१ असोज, काठमाडौं । मनसुनका कारण रातिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा खुला गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेमा सोमबार बसेको सुरक्षा समितिको बैठकले दसैँ, तिहारलगायतका चाडपर्वलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो । गत असारदेखि रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो । बाढीपहिरोको जोखिम बढेकाले काभ्रेको धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्मको खण्डमा सवारीसाधनलाई आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।

यसअघि भदौ १६ गतेदेखि थप १५ दिनका लागि रोक लगाइएकोमा भदौ मसान्तपछि यसलाई हटाइएको छ । काभ्रेको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा घण्टौंसम्म रोकिनुपर्ने अवस्था अब अन्त्य भएको छ ।

पूर्वी नेपाललाई जोड्ने छोटो दूरीको यस राजमार्गमा दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् । यद्यपि, राजमार्गका केही खण्डहरू अझै पनि जोखिमपूर्ण छन् र त्यसको स्थायी निर्माणको प्रक्रिया चलिरहेको स्थानीय प्रशासनले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै