Logo

१ असोज, काठमाडौं । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकामध्ये ७ जनाको शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको छ।

चुच्चेपाटीको भाटभटेनी सुपरमार्केटमा फेला परेका यी शवहरूलाई अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको छ। फरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार, यी शवहरूको शरीर पूर्ण रूपमा जलेर कंकाल मात्र बाँकी छ, जसका कारण उनीहरूको पहिचान परम्परागत विधिबाट सम्भव छैन। प्रहरीले यी शवका आफन्तहरू अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ।

पहिचानको लागि डीएनए नै एकमात्र उपाय

अत्याधिक जलेका कारण उनीहरूको पहिचान डीएनए परीक्षणबाट मात्रै सम्भव हुनेछ। डा। चौधरीका अनुसार, हड्डी वा दाँतबाट डीएनएको नमुना निकालेर मृतकका आमा वा बुवाको डीएनएसँग म्याच गरिनेछ।

यद्यपि, यदि शव लामो समयसम्म आगोमा जलेको भए डीएनएको नमुना पनि नष्ट भइसकेको हुन सक्ने उनले बताए। प्रहरीबाट अनुमति आएपछि डीएनए नमुना संकलनको काम सुरु गरिने उनले जानकारी दिए।

मृतकको संख्या ७४ पुग्यो

यसैबीच, बिहीबार कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि जलेको अवस्थामा अर्को एक शव भेटिएसँगै जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ। यसअघि ३९ जना मृतकको पोस्टमार्टम गरी शव आफन्तलाई बुझाइएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आन्दोलनपछि हराएका आफन्तबारे जानकारी दिन कन्ट्रोल नम्बर १०० वा जिल्ला प्रहरी परिसरको नम्बर ९८५१२८३०१२ मा सम्पर्क गर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै