१ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रबिलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
उनको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइरहेको छ। जलनविज्ञ डा.कीरण नकर्मीका अनुसार, आज उनको देब्रे हातको शल्यक्रिया गरिनेछ।
पूर्वप्रधानमन्त्री खनालले आगलागीका कारण चित्रकारको फोक्सोमा हानिकारक ग्यास पुगेको र देब्रे हातमा गम्भीर जलन भएको जानकारी दिएका छन् । उनले घटनामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै आफ्नो घरमा तोडफोड गर्ने र लुटपाट गर्नेहरूको प्रमाण फेला परेको र छिट्टै सार्वजनिक गरिने बताएका छन् ।















