२ असोज, काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद हुने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार दुबै नेताबीच आपसी सम्बन्ध, सहयोग र क्षेत्रीय चासोका विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको छ।
यसअघि बुधबार नै टेलिफोन संवाद हुने तयारी भए पनि अन्तिम समयमा स्थगित भएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन संवाद हुने जानकारी गराएकी थिइन्। तर बुधबार संवाद किन स्थगित भयो भन्नेबारे स्पष्ट कारण सार्वजनिक गरिएको छैन।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार प्रधानमन्त्री कार्की र मोदीबीच आज हुने टेलिफोन संवादलाई औपचारिक तयारीका रूपमा प्रधानमन्त्री कार्यालयले प्राथमिकतामा राखेको छ। उनले भने, “प्रधानमन्त्रीज्यूले मंगलबारको मन्त्रिपरिषद् बैठकमै भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने कुरा गर्नुभएको थियो। बुधबार किन स्थगित भयो भन्नेबारे जानकारी छैन।”
यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी भारतीय प्रधानमन्त्री मोदीको सन्देश हस्तान्तरण गरेका थिए। सो भेटमा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ।
नेपालमा हालै गठन भएको अन्तरिम सरकारसँग भारतले निकट सहकार्य गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्की र भारतीय समकक्षीबीचको संवादलाई दुवै देशबीचको सम्बन्ध र सहयोगलाई नयाँ उचाइमा पु¥याउने अवसरका रूपमा हेरिएको छ।















