२ असोज, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै सक्रिय रहेकाले देशभर मौसम प्रभावित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पनि कायम रहेकाले वर्षाको गतिविधि बढेको महाशाखाको भनाइ छ।
यसको प्रभावले देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मंगलबार बिहानैदेखि हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको छ। साथै, कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनाप्रति चेतावनी दिइएको छ।
भारी वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो तथा नदी–नाला बढ्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण, यातायात तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।















