काठमाडौं । हालै सम्पन्न जेनजी आन्दोलनले देशव्यापी रूपमा पुर्याएको क्षतिको मूल्याङ्कन रिपोर्ट सरकारले चाँडै नै सार्वजनिक गर्ने भएको छ।
बुधबार क्षतिग्रस्त संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले यो जानकारी दिएका हुन् । उनले आन्दोलनबाट काठमाडौंमा मात्र नभई देशभरका सरकारी संरचनाहरूमा ठूलो क्षति पुगेको बताए। मन्त्री घिसिङले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारले बजेटको व्यवस्था गर्ने मात्र नभई ‘राष्ट्रिय जागरण अभियान’ समेत चलाउने बताए ।
यस अभियानको उद्देश्य देश र विदेशमा रहेका सबै नेपालीलाई पुनर्निर्माण कार्यमा स्वेच्छिक रूपमा सहभागी गराउनु रहेको छ। यसरी संकलित स्रोत अपुग भएमा सरकारले थप व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। यस कदमलाई आन्दोलनले पुर्याएको क्षतिको सामूहिक समाधान खोज्ने सरकारी प्रयासका रूपमा हेरिएको छ।















