Logo

२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण भारतसँग जोडिएका सीमानाकाबाट चाँदीका गहना र कच्चा मालको अवैध तस्करी बढेको छ। सीमावर्ती नाकाबाट भित्रिएको चाँदीका गहना देशका विभिन्न सहरमा बिक्री भइरहेको सुनचाँदी व्यवसायीहरूले बताएका छन्।

दशै, तिहार जस्ता चाडवाडलाई लक्षित गरी ठूलो परिणाममा सुन र चाँदीको अवैध कारोवार बढन थालेको छ । गत भदौको २३ र २४ गतेको घटना पछि सुरक्षा निकायमा देखिएको असुरक्षाको भावले तस्करहरु फेरि मौलानउ थालेका छन् । जेनजीको आन्दोलनपछि विस्थापित भएका सुरक्षा युनिटहरु एकहप्ता सम्म सीमा क्षेत्रमा डिउटीमा नदेखिएपछि त्यसको मौका समेत तस्करहरुले उठाएको व्यवसयीको भनाई छ ।

आर्थिक वर्ष २०७८र७९ मा वार्षिक करिब १ लाख ६७ हजार किलो चाँदी राजस्व तिरेर नेपाल भित्रिएको थियो। तर, त्यसपछिका आर्थिक वर्षहरूमा यो परिमाणमा भारी गिरावट आएको छ। आर्थिक वर्ष २०७९र८० मा २८ हजार ३७५ किलो, २०८०र८१ मा २९ हजार किलो र २०८१र०८२ मा ३० हजार किलो चाँदी मात्रै वैधानिक मार्गबाट नेपाल भित्रिएको भन्सार कार्यालयको तथ्यांकले देखाउँछ। हाल नेपालमा चाँदी आयात गर्ने १७ वटा निजी कम्पनी र केही वाणिज्य बैंकहरू छन्।

नेपाली बजारमा वार्षिक करिब २ लाख किलो चाँदीको कारोबार हुने व्यवसायीहरूको भनाइ छ। सरकारले दुई वर्षदेखि चाँदीको आयातमा नियन्त्रण गरेपछि भारतीय बजारबाट अवैध मार्ग हुँदै तयारी गरगहना र कच्चा माल भित्रिन थालेको गुनासो छ। नेपाल राष्ट्र बैंकले चाँदीको पैठारीमा कोटा प्रणाली लगाएर नियन्त्रण गर्दा चोरी तस्करी मौलाएको व्यवसायीहरूको तर्क छ।

हालै राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गरी चाँदी आयात खुकुलो बनाएको छ। यसअनुसार, उद्योगको हकमा प्रतिपटक अमेरिकी डलर ५ लाखसम्म सटही सुविधा प्रदान गरिने भएको छ, जुन यसअघि ३ लाख अमेरिकी डलर थियो। अन्य सुनचाँदी व्यवसायीका लागि भने प्रतिपटक १ लाख अमेरिकी डलरसम्मको सटही सुविधा यथावत् छ।

राज्यलाई अर्बौंको राजश्व घाटा

राष्ट्र बैंकको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा करिब ६ अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले बढी हो। यद्यपि, खुला सीमानाको फाइदा उठाउँदै तस्करहरूले ठूलो परिमाणमा अवैध रूपमा चाँदी तस्करी गरिरहेको व्यवसायीहरूको भनाइ छ। राज्यका विभिन्न निकायको संरक्षणमा अवैध मार्गबाट चाँदी आउने गरेको आरोप छ।

हालसम्म नेपालमा वार्षिक करिब २१ अर्ब रुपैयाँ बराबरको चाँदीको वैधानिक आयात देखिँदैन। चाँदीको अवैध कारोबारका कारण सरकारलाई वार्षिक २ अर्बभन्दा बढीको राजश्व नोक्सान भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व अनुसन्धान विभागका कर्मचारीहरूको संरक्षणमा चोरी तस्करी बढेको व्यवसायीहरूको दाबी छ।

नेपालमा चाँदीका आधुनिक गहना र विभिन्न डिजाइनका सामान बनाउने कारखाना नभएकाले व्यवसायीहरूले भारतबाट तयारी गरगहना अवैध मार्गबाटै ल्याउने गरेका छन्।

चाँदीका गहना चोरी मार्गबाट नेपाल भित्रिएको सूचना राज्यका विभिन्न निकायलाई भए पनि त्यसलाई रोक्न खासै पहल नभएको व्यवसायीहरूको गुनासो छ। वीरगञ्जका एक व्यवसायीका अनुसार, प्रहरीकै संरक्षणमा चाँदी भारतका विभिन्न नाकाबाट नेपाल भित्रिने गरेको छ।

नीतिगत त्रुटि र बजारको माग

नेपाली बजारमा मागअनुसार वैधानिक मार्गबाट चाँदी आउन नसक्दा सरकारको नीतिका कारण सीमाक्षेत्रबाट अवैध रूपमा भित्रिएको चाँदीले बजार ओगटेको छ। सरकारको नीतिका कारण चाँदीका गरगहना र सजावटका सामान बनाउने उद्योगहरूले नियमविपरीत विभिन्न बिचौलियाबाट चाँदी किन्न बाध्य भएको व्यवसायीहरू बताउँछन्।

बजारको मागअनुसार चाँदी वैधानिक मार्गबाट नआउँदा राज्यलाई वार्षिक २ अर्ब राजश्व घाटा भइरहेको छ। सरकारको नीतिका कारण हाल वार्षिक २८ हजार किलो मात्र चाँदी नेपालमा भित्रिने गरेको छ, जबकि नेपालको बजारमा वार्षिक झण्डै २ लाख किलो चाँदीको माग छ। सरकारले चाँदी पैठारीमा नियन्त्रण गरेपछि वीरगञ्जदेखि विराटनगरसम्मका व्यवसायीहरूले बजारमा अवैध रूपमा भित्र्याइएको चाँदीका गहना बिक्री गर्दै आएका छन्।

उद्योगहरूको संलग्नता र गुणस्तरहीन चाँदी

चाँदीको अवैध कारोबारमा सीमा क्षेत्रका अधिकांश उद्योगहरू समेत संलग्न रहेको स्रोतको दाबी छ। विराटनगरको टेक्नोजया उद्योगले भारतबाट चाँदीका तयारी गहना र विभिन्न किसिमका सामान अवैध रूपमा ल्याउने गरेको पाइएको छ।

तत्कालीन केपी ओली सरकारको पालामा राज्यका निकायलाई मिलाएर चाँदीको अवैध कारोबार हुँदै आएको एक चाँदी व्यवसायीले बताएका छन्। काठमाडौंको न्यूरोडमा समेत भारतीय नागरिकले चाँदीको होलसेल पसल सञ्चालन गरिरहेको दाबी छ। भारतबाट अवैध रूपमा ल्याइएका तयारी गहना गुणस्तरहीन हुने गरेको र त्यसको प्युरिटीसमेत कम हुने गरेको भए पनि राज्यका निकायको ध्यान जान नसकेको न्यूरोडका एक व्यवसायीले बताए।


सम्बन्धित समाचार
भर्खरै