Logo

२ असोज, काठमाडौं ।  एशिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले युएईमाथि सानदार जित हात पारेको छ। हिजो दुबईमा सम्पन्न खेलमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गर्दै सुपर ४ चरणमा स्थान सुनिश्चित गरेको हो।

पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४६ रन बनायो। टोलीका लागि फखर जमानले उत्कृष्ट प्रदर्शन गर्दै ५० रन जोडे भने शाहीन अफ्रिदीले २९ रनको योगदान दिए। युएईका बलर जुनैद सिद्दिकीले चार विकेट लिएर पाकिस्तानलाई दबाबमा राख्ने प्रयास गरेका थिए।

१४७ रनको लक्ष्य पछ्याउने क्रममा युएईको ब्याटिङ लाइनअप नियमित अन्तरालमा विकेट गुमाउँदै १७.४ ओभरमा जम्मा १०५ रनमै समेटियो। युएईका राहुल चोप्रा मात्र ३५ रन बनाएर केही संघर्ष गरेका थिए। पाकिस्तानको सुदृढ बलिङको अगुवाइमा युएईले ठूलो अन्तरले हार व्यहोर्नु परेको हो।

यस जितसँगै पाकिस्तानले समूह ‘ए’ बाट सुपर ४ मा स्थान बनाएको छ। यसअघि नै दुई खेल जितेको भारत समूहको शीर्ष स्थानमा रहँदै सुपर ४ मा प्रवेश गरिसकेको छ। समूहको अर्को टोली ओमान भने अहिलेसम्म जितविहीन रहँदै पुछारमा छ।

एशिया कप क्रिकेट प्रतियोगितामा कुल आठ टोली सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई, र ओमान छन् भने समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का प्रतिस्पर्धामा छन्।

प्रतियोगिताको फाइनल खेल आगामी सेप्टेम्बर २८ तारिख (असोज १२ गते) मा आयोजना हुनेछ।


सम्बन्धित समाचार