२ असोज, काठमाडौं । हालै सम्पन्न जेनजी आन्दोलनलाई लिएर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गम्भीर आरोप लगाएका छन्।
आन्दोलनका क्रममा आफ्नो निवासमा भएको तोडफोड र आगजनीको घटनालाई जोड्दै उनले यो सामान्य विरोध नभई राजनीतिक दल र उनीहरूले देशको लागि गरेको योगदानलाई समाप्त पार्ने सुनियोजित षड्यन्त्र भएको बताए।
उनले विराटनगरको कोइराला निवास, चाक्सीबारी र कृष्णप्रसाद भट्टराईको आश्रमजस्ता ऐतिहासिक महत्त्व बोकेका स्थानहरूमा भएको आगजनीलाई यसको प्रमाणको रूपमा प्रस्तुत गरे। सिंहका अनुसार, यस प्रकारको आक्रमणले लोकतन्त्रको जग नै कमजोर बनाउने प्रयास भएको देखिन्छ ।
नेता सिंहले राज्यविरुद्ध गरिएको यस दुष्प्रयासमा ‘अलोकतान्त्रिक शक्तिु को घुसपैठ भएको शङ्का व्यक्त गर्दै सरकारलाई यसको निष्पक्ष छानबिन गर्न र यस्ता तत्वहरूप्रति सतर्क रहन आग्रह गरेका छन्। उनले ‘जलाएर केही हुने होइन’ भन्दै देश सबै मिलेर मात्र बनाउन सकिनेमा जोड दिएका छन् । यस भनाइले आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिलाई दलका नेताहरूले गम्भीर रूपमा लिएको सङ्केत गर्दछ।















