Logo

२ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर शहीद भएका वीरगञ्ज–१२, मुर्लीका असाहब आलमको परिवारलाई घरमै पुगेर भेट गरेका छन्। बिहीबार बिहान आलमको घरमा पुगेका मेयर सिंहले परिवारजनसँग समवेदना प्रकट गर्दै सहानुभूति व्यक्त गरेका हुन्।

मेयर सिंहले शहीद आलमका काका एकबाल ठाकुर, दाइ राजाबाबु ठाकुरसहित परिवारका अन्य सदस्यहरूसँग कुराकानी गरेका थिए। उनले कलकलाउँदो उमेरमा छोरालाई गुमाएको पीडामा परेका परिवारलाई सान्त्वना दिँदै आफू सधैं साथमा रहने आश्वासन दिए।

शहीद आलमका भाइको अध्ययनबारे जानकारी लिँदै मेयर सिंहले “शिक्षामा कुनै बाधा नआओस् भनेर महानगरपालिका तर्फबाट सक्दो सहयोग गरिने” प्रतिबद्धता जनाए। उनले आगामी दिनमा आलमको परिवारप्रति महानगरको तर्फबाट आवश्यक सहयोगका ढोका सधैं खुला रहने बताए।

आलमको परिवारलाई भेट्ने क्रममा मेयर सिंहसँगै जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महम्मद, समाजसेवी मदन गुप्ता, युवा अगुवा राजु गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो।

केही समयअघि मात्र वैवाहिक जीवनमा बाँधिएका आलमले भदौ २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए। उनी तीन वर्षदेखि अध्ययन तथा रोजगारीको सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए। घटना भएको दिन आलम पठाओ राइडरको रूपमा एक यात्रुलाई गोङ्गबु लैजाँदै गर्दा आन्दोलनस्थल नजिकै प्रहरीले चलाएको गोलीको चपेटामा परेका थिए।

वीरगञ्जको ग्लोबल बिजनेस कलेजबाट व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण गरेका आलम काठमाडौँमा स्नातक तहको अध्ययन गर्दै आएका थिए। पढाइसँगै आर्थिक सहयोगका लागि उनी पठाओमा काम गर्थे।


सम्बन्धित समाचार