२ असोज,वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकास्थित हेटौंडा ग्रिडअन्तर्गत रहेको सबस्टेशनमा बुधबार दिउँसो भएको आगलागीपछि अवरुद्ध भएको विद्युत् सेवा बिहीबार बिहान केहीबेरका लागि सुचारु भए पनि फेरि अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दूबेका अनुसार १३२ केभीए ब्रेकरको बुस फूटेपछि पुनः आपूर्ति बन्द भएको हो। “हामीले प्रसौनी सबस्टेशनमार्फत सेवा सुचारु गर्ने प्रयास गरिरहेका छौं, तर प्राविधिक जटिलताका कारण कहिले आपूर्ति पूर्ण रूपमा सामान्य हुन्छ भन्न सकिने अवस्था छैन,” उनले भने।
बुधबार दिउँसो ४ बजे ११ केभीएको प्यानलमा सर्ट सर्किट भएर आगलागी भएको थियो। त्यसपछि सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरबाट विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको थियो।
बारम्बारको विद्युत् अवरुद्धले वीरगञ्ज र आसपासका क्षेत्रको दैनिकीमा गम्भीर असर पारेको छ। उद्योग, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा समेत प्रभाव परेको स्थानीयको गुनासो छ। लगातारको लोडसेडिङले व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै उनीहरूले तत्काल समस्या समाधान गर्न माग गरेका छन्।
वीरगञ्जबाट गएको वारुण यन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा आगलागी नियन्त्रणमा लिइए पनि पूर्ण रूपमा सेवा पुनःस्थापना गर्न समय लाग्ने देखिएको छ। परवानीपुर र छपकैया सबस्टेशनमार्फत आपूर्ति हुने सबै लाइन हालसम्म बन्द छन्।
स्थानीय बासिन्दाहरूले विद्युत् प्राधिकरणमाथि ढिलासुस्ती गरेको आरोप लगाउँदै यस्ता समस्या बारम्बार दोहोरिन नदिन दीर्घकालीन समाधानको माग गरेका छन्। “प्रत्येक वर्ष सिजनमा समस्या हुन्छ, प्राधिकरणले स्थायी योजना ल्याउनु पर्ने बेला भइसक्यो,” एक स्थानीय उद्योगीले भने।
प्राधिकरणले मर्मत कार्यलाई तीव्रता दिएको जनाएको छ र सकेसम्म छिटो सेवा पुनः सुरु गर्ने प्रतिबद्धता दोहोर्याएको छ। यद्यपि, हालसम्म विद्युत् सेवा कहिले सामान्य हुन्छ भन्ने ठोस समय तोकिएको छैन।















