२ असोज, काठमाडौं । हालैको जेनजी आन्दोलनले निम्त्याएको हिंसा र अस्थिरताको प्रत्यक्ष मार बिहीबार सेयर बजारमा परेको छ।
राजनीतिक अनिश्चितता र लगानीकर्ताहरूको मनोबलमा आएको गिरावटको कारण, बजार खुल्नेबित्तिकै एकपछि अर्को गरी तीनवटा ‘नेगेटिभ सर्किट ब्रेक’ लागे र अन्ततः दिनभरका लागि कारोबार स्थगित भयो । बिहान ११ः३० बजेभित्रै नेप्से परिसूचक ६ प्रतिशतले घट्दै १६० अंकले तल झरेर २५११ मा कायम भयो । यस अवधिमा कुल कारोबार केवल ७२ करोड ८७ लाख रुपैयाँमा सीमित रह्यो । यस तीव्र गिरावटले लगानीकर्ताहरूमा फैलिएको त्रास र बिक्रीको उच्च चाप स्पष्ट पार्छ ।
यस गिरावटले समग्र बजारलाई नकारात्मक असर पुर्यायो, जसमा व्यापार, होटल तथा पर्यटन, लगानी जस्ता समूहहरूमा ७ प्रतिशतभन्दा बढीको गिरावट देखियो। हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा जस्ता ठूला कम्पनीहरूको सेयर मूल्यमा आएको भारी गिरावटले पनि समग्र ‘अन्य समूह’ मा ठूलो असर पुर्यायो। यस घटनाले राजनीतिक अस्थिरताको जोखिमले अर्थतन्त्रको संवेदनशील क्षेत्रहरूमा कति छिटो र कति गम्भीर असर पार्न सक्छ भन्ने कुराको सङ्केत गरेको छ।















