२ असोज,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–१० निलकण्ठवामा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रगत दान गरेका छन्। नवदुर्गा पूजा समितिको आयोजनामा भएको उक्त कार्यक्रममा दुई महिलासहित स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता देखिएको हो।
वीरगञ्जस्थित रक्त सञ्चार केन्द्रको सहकार्यमा सम्पन्न कार्यक्रममा कलावती देवी, रम्भा देवी, सिन्धु कुशवाहा, आकाश चौरसिया, प्रहलाद चौरसिया, सन्जित कुमार सिंह, नितेश कुमार चौरसिया, अलक प्रसाद कुशवाहा लगायतले रक्तदान गरेका थिए।
कार्यक्रमका संयोजक दयासिन्धु कुशवाहाले नियमित रक्तदानको महत्त्वबारे प्रकाश पार्दै यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक ऊर्जा सिर्जना गर्ने बताए। कार्यक्रममा पत्रकार प्रहलाद चौरसिया, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो।
नवदुर्गा पूजा समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा युवाहरूको उत्साहजनक उपस्थिति र सहभागिताले सामाजिक उत्तरदायित्वप्रति समुदायको सक्रियता झल्काएको छ। आयोजकहरूले आगामी दिनहरूमा थप यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।















