२ असोज, काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टी निर्देशन अवज्ञा गरेको भन्दै स्पष्टीकरण माग गरेको छ। पार्टीको केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार एक पत्र जारी गर्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन्।
पार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको र त्यस अनुसार सिंहसहितका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको भए पनि सिंहले अहिलेसम्म मुख्यमन्त्री पदबाट राजीनामा नदिएको पत्रमा उल्लेख गरिएको छ। सिंहले फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरे पनि औपचारिक रूपमा पद त्याग नगरेको भन्दै पार्टीले आपत्ति जनाएको छ।
अनुशासन समितिले सिंहमाथि अन्य राजनीतिक दलहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरित गतिविधिमा संलग्न भएको, पार्टीको छविमा आँच पुर्याएको र अनुशासन उल्लंघन गरेको आरोप पनि लगाएको छ।
पत्रमा चेतावनी दिँदै भनिएको छ, “तपाईंलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नगर्ने भन्ने बारे तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहोस्।”
यस घटनाले जनमत पार्टीभित्रको आन्तरिक असहमति र राजनीतिक संकट उजागर गरेको छ।















