Logo

२ असोज, काठमाडौं । नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि सत्ता सम्हालेको झन्डै एक साता बितिसक्दा पनि चीनका शीर्ष नेतृत्वबाट औपचारिक बधाई नआएको विषयले चर्चा पाइरहेका बेला बिहीबार चीनका राजदूत चेन सोङ सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीलाई भेट गरेका छन्।

राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई नियुक्तिप्रति बधाई दिंदै द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। “उहाँलाई हार्दिक बधाई दिँदै समर्थन प्रकट गरियो,” राजदूत सोङले भेटपछि भनेका छन्, “दुवै पक्षबीच विचार विनिमय हुँदै मित्रता र सहकार्यलाई अझै प्रगाढ बनाउँदै लैजाने सहमति भएको छ।”

यद्यपि, भदौ २७ मा प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले औपचारिक बधाई नदिएको अवस्था चीनको कूटनीतिक हिचकिचाहटका रूपमा हेरिएको छ।

यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले मात्र नियमित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै कार्कीलाई बधाई दिएका थिए।

उता भारतले भने प्रधानमन्त्री कार्कीप्रति तत्काल प्रतिक्रिया जनाउँदै बधाई सन्देश र समर्थन जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्कीलाई प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टै बधाई दिएका थिए। त्यस्तै, भारतीय राजदूत नवीन श्रीवास्तवले शीतल निवासमै पुगेर औपचारिक बधाई दिएका थिए। हालै दुई प्रधानमन्त्रीबीच टेलिफोन वार्ता पनि भएको पुष्टि भएको छ।

अझ रोचक कुरा त के छ भने धर्मगुरु दलाई लामाले समेत प्रधानमन्त्री कार्कीलाई चीनभन्दा पहिल्यै बधाई पठाएका छन्। धर्मशालाबाट जारी गरिएको सन्देशमा उनले नेपाली र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै कार्कीको नियुक्तिलाई “खुशीको क्षण” भनेका छन्।

उनको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार, “तपाईंलाई थाहा छ, नेपाली र तिब्बती जनताबीच इतिहासदेखि नै निकट सम्बन्ध छ,” भन्दै सन् १९५९ मा तिब्बती शरणार्थीलाई शरण दिने नेपालको भूमिकाप्रति उनले आभार व्यक्त गरेका छन्।

यसका साथै तिब्बती निर्वासित सरकारका प्रमुख पेन्पा छेरिङले पनि कार्कीलाई बधाई दिंदै नेपालमा रहेका तिब्बती शरणार्थीको अवस्थाबारे आशा व्यक्त गरेका छन्।

यो सम्पूर्ण घटनाक्रमले प्रधानमन्त्री कार्कीप्रति अन्तर्राष्ट्रिय समुदायको चासो, समर्थन र भू-राजनीतिक संकेतहरू उजागर गरेको देखिन्छ। एकातर्फ चीनको ढिलो प्रतिक्रिया र अर्कोतर्फ भारत तथा तिब्बती नेताहरूको अग्रसरता नेपालका लागि कूटनीतिक सन्तुलनको महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार
भर्खरै