२ असोज, काठमाडौं । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले दुई देशबीच ऐतिहासिक रक्षा सहकार्यको घोषणा गर्दै “रणनीतिक पारस्परिक रक्षा सम्झौता” मा हस्ताक्षर गरेका छन्।
रियादको अल-यामामा दरबारमा बुधबार भएको भेटका क्रममा दुई नेताबीच यो महत्वपूर्ण सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार, यदि साउदी अरेबिया वा पाकिस्तानमध्ये कुनै एक देशमाथि आक्रमण भयो भने त्यसलाई दुवै देशमाथि भएको आक्रमण मानिनेछ।
प्रधानमन्त्री शाहबाज शरीफको साउदी भ्रमणको क्रममा गरिएको यो सम्झौताले दुई देशबीचको ८० वर्ष पुरानो सम्बन्धलाई नयाँ उचाइमा पु-याउने विश्वास गरिएको छ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले सामाजिक सञ्जाल ‘एक्स’मार्फत लेखेका छन्, “यो सम्बन्ध भ्रातृत्व, इस्लामिक एकता र रणनीतिक सहकार्यमा आधारित छ।”
उनका अनुसार, सम्झौताको मुख्य उद्देश्य रक्षा क्षेत्रमा सहकार्य विस्तार गर्नु र क्षेत्रीय शान्ति तथा सुरक्षालाई सुनिश्चित गर्नु हो।
विश्लेषकहरूका अनुसार, यो सम्झौता केवल द्विपक्षीय रक्षा सम्बन्धलाई बलियो बनाउने मात्र होइन, दक्षिण एशिया र खाडी क्षेत्रको कूटनीतिक समीकरणमा समेत गहिरो प्रभाव पार्न सक्नेछ।
















